समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा । सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला किनारको ऐलानी जग्गामा बसोवास गर्दै आएका पाँच डोम परिवारले घर पाएका छन् । आइतबार पाँच डोम परिवारलाई घर हस्तान्तरण गरिएको हो । लहान नगरपालिकाका मेयर मुनि साह सुडीले रिबन काटेर एकीकृत बस्तीको उद्घाटन गर्दै पाँच परिवारलाई घर हस्तान्तरण गरेका हुन् ।

दुईवटा सुत्नेकोठा, भान्सा, शौचालय र बरन्डासहितको पक्की घर पाएपछि वर्षौँदेखि झुपडीमा बस्दै आएका विपन्न डोम समुदाय दंग छन् । बस्ती हस्तान्तरण गर्दै मेयर साहले विपन्न र दलितका लागि सरकारले घर सहयोग गरेको बताए । उनले अब आफ्नै सुविधायुक्त घरमा बसेर आय–आर्जनका कामसँगै छोराछोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको तराई–मधेस समृद्धि कार्यक्रममार्फत ९० लाख र लहान नगरपालिकाको नौ लाख दुई हजार रुपैयाँ लागतमा १० घरसहितको एकीकृत बस्ती निर्माण गरिएको हो ।

 पाँच घर पछि हस्तान्तरण गरिने
बस्तीमा बनेका १० घरमध्ये पहिलो चरणमा पाँच परिवालाई घर हस्तान्तरण गरिएको हो । वडा कार्यालयले थप पाँच परिवारको नाम सिफारिस गरेपछि बाँकी घरसमेत हस्तान्तरण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले जानकारी दिए । १० चैतमा शिलान्यास गरिएको एकीकृत बस्ती गत असारमै निर्माण सम्पन्न भए पनि प्राविधिक कारणले ढिलो हस्तान्तरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुनिलकुमार साहले बताए । 

 सामाजिक हैसियत बढ्यो
थोत्रो कपडाले बारेको झुपडीमा बस्दै आएकी ५६ वर्षीया एकल महिला दहनी मरिकले सरकारले घर दिँदा खुसी लागेको बताइन् । ‘अब मजदुरी गरेर आएपछि कम्तीमा राति त राम्ररी सुत्न पाइने भयो,’ खुसी हुँदै उनले भनिन् । बस्तीका जोगेन्द्र डोमले पनि पक्की घर पाउँदा सामाजिक हैसियत नै बढेको महसुस भएको बताए । ‘थोत्रा कपडाले बारेको झुपडीमा गुजारा गर्न कठिन थियो,’ उनले भने ‘नगरपालिकाको पहलमा बनेको घर पाउँदा हामीलाई निकै खुसी लागेको छ ।’ लहान–५ की दहनी मरिक, जोगेन्द्र मरिक, विनोद मरिक, प्रमोदकुमार मरिक र धनसिं मरिकले घर पाएका हुन् ।

 विद्यालय पनि हस्तान्तरण
तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत लहान–५ को खुट्टीखोलाको पश्चिम किनारमा अवस्थित शिवशक्ति आधारभूत विद्यालयको नवनिर्मित पाँचकोठे भवनसमेत मेयर साहले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन् । तराई–मधेस समृद्धि कार्यक्रमको ५० लाख र नगरपालिका तथा उपभोक्ता समितिको पाँच लाख २९ हजार गरी ५५ लाख २९ हजार रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । भवन प्राप्त भएकाले विद्यालयको दैनिक पठन–पाठन सहज हुने प्रधानाध्यापक विभा ठाकुरले बताइन् । भवन हस्तान्तरणसँगै लहान–५ मा पर्ने शिवशक्ति, ज्ञानोदय र नवकाली आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत ५८ छात्रा र ६५ छात्रलाई विद्यालय पोसाक, टिफिन बक्ससमेत बाँडिएको छ । यो समाचार सिरहाबाट मनिकलाल विश्वकर्माले आजको नयाँ पत्रीका दैनिकमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here