समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको कार्यालय आइतबार घेराउ गरिएको छ । आर्थिक सशक्तीकरणका लागि गरिबी निवारण कोष मार्फत सञ्चालित विभिन्न समुहहरुलाई सहकारी बनाउन लागेको विरोधमा नगरपालिका कार्यालय घेराउ गरिएको हो ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ र १० साविक बरमझियाका महिलाहरुले नगरपालिका घेराउ गरेका हुन् । करिब ५ सय भन्दा बढीको संख्यामा उनीहरुले बरमझिया देखि नाराजुलुस लगाउदै नगरपालिका कार्यालय विरेन्द्राबजार पुगेर कार्यालय घेरेका थिए ।

महिलाहरुको आर्थिक सशक्तीकरणको लागि १० वर्ष अगाडी गरिबी निवारण कोषले गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ र १० साविक बरमझियामा १६ वटा सामुदायिक संस्था गठन गरेको थियो । सो सामुदायिक संस्थाहरुलाइ फिर्ता नहुने शर्तमा ७६ लाख अनुदान दिएको थियो । सो रकमलाई बचत जम्मा समुहका सदस्यहरुले हाल करिब १ करोड ३५ लाख रुपैयाँको पुजी कायम गरिसकेको समुहका सदस्यहरुले बताए । तर नगरपालिकाका केही जनप्रतिनिधिले झुक्याएर सो १६ वटै समुहलाइ एउटा सहकारी बनाएकोले सो सामुदायिक संस्थाका करिब ५ सय भन्दा बढी महिलाहरूले न्यायको लागि आइतबार गणेशमान चारनाथ नगरपालिकामा धर्नामा बसेका थिए ।

झुक्याएर बनाएको सहकारी खारेज गर, साविककै सामुदायिक संस्था कायम गर र हिनामिना गरेको रकम फिर्ता गरलगायतका माग राखि महिलाहरू आन्दोलित भएका हुन् । विगत ६ महिना भन्दा बढी देखि आफुहरुले सामुदायिक संस्थालाई सहकारी नबनाउने भन्दै महिलाहरुले संघर्ष गर्दै आइरहेका छन् । सोही संघर्ष अनुसार उनीहरुले विभिन्न चरणमा नगरपालिकासँग छलफल समेत गरिसकेका छन् । तर माग सम्बोधन नभएपछि नगरपालिका घेराउ गरिएको उनीहरूले बताए ।

समुहको सहमति तथा निर्णय बेगर सहकारीमा लगिएकोले दुई तिहाइ भन्दा बढि सदस्यले सहकारी खारेज गरि पाउ भनि नगर प्रमुखलाई निवेदन दिएका थिए । नगरपालिका कार्यालय घेराउ गरेपछि नगर प्रमुख रामबाबु यादवले स्थानीय सरकारको कार्यपालिकाको निर्णय बमोजिम खारेज प्रकृया अगाडि बढाएको बताए । निवेदन दर्ता भएको १५ दिनसम्म अनुसन्धान गरि ७ दिन भित्र प्रतिवेदन पेश गर्ने गरि २३ औँ दिनमा असंवैधानिक रूपमा गठन गरिएको सहकारी खारेज गरिने मेयर यादवले बताए ।

ती सामुदायिक संस्थाका स्वयंसेवक कर्मचारी रूपा सुवेदीले झुक्याएर सहकारी बनाउन लगाएको समुहका सदस्यहरू बताए । केही जनप्रतिनिधिको राजनीतिक संरक्षणको आडमा स्वयंसेवक कर्मचारी रुपाले महिलाहरूलाइ झुक्याएको उनीहरूले बताइन् । करिव १७ लाख रुपैयाँको लेखाजोखा नभएकोले हिनामिना गरेको रकम फिर्ता नगरेसम्म आन्दोेलन जारी रहने महिला सदस्यहरूले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here