समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । केही दिन अगाडि जनकपुरधाम उपमहानगरपालिकामा मेयर पत्रकारबीच भएको विवादको घटनामा आईतवार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकपुरका व्यापारी समेत रहेका धर्मेन्द्र साहलाई पक्राउ गरेको हो ।

मेयर–पत्रकारबीचको घटनामा पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले दिएको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेपछि चौतर्फी आलोचना सहित उनको रिहाईको माग समेत गरिएको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मिश्रले जाहेरी दिएपछि सोही जाहेरीको आधारमा साहलाई आईतबार उद्योग वाणिज्य संघ धनुषाको सहभाहलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाइएको छ ।

गत पुस २२ गते जनकपुरका मेयर लालकिशोर साहको कार्यकक्षमा बाहिरबाट आएका धर्मेन्द्र साह, उपेन्द्र साह, अरुण साह र बज्रकिशोर सिँहले पत्रकारहरु उपर कुटपीट सहित समान समेत खोसेको भन्दै उनीहरुलाई कारवाहीको माग गर्दै जाहेरी दिएको थियो ।

पुस २२ गते पत्रकारहरु उपर कुटपीट सहित क्यामेरा खोसेको, मेमोरी खोसेको, बाहिरबाट मान्छेहरु आएर दुव्र्यवहार सहित कुटपीट गरेको भन्दै भिडियोमा देखिएको चारै जना उपर जाहेरी दिएको बताइएको छ । सोही अनुसार साहलाई छानविन तथा आवश्यक कारवाहीको लागि पक्राउ गरिएको जनाईएको छ ।

स्रोतका अनुसार, उपेन्द्र साह, अरुण साह र बज्रकिशोर सिँह माथी पनि जाहेरी दिइए पनि उनीहरु अझै प्रहरी नियन्त्रणमा आईसकेका छैनन ।

साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।

यता, साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति धनुषाले एक प्रेस विज्ञप्ति जारी गर्दै उनको रिहाईको माग गरेको छ । यसका साथै समाजिक सञ्जालहरुमा समेत साहको रिहाईको माग उठाइएको छ ।

जारी विज्ञप्तिमा प्रहरी प्रशासनसँग यी घटनालाई मिलाउने प्रयास भईरहँदा पनि एक आम सर्वसाधारणलाई यस्तो शैलीमा पक्राउ गर्नु भनेको जनकपुरलाई आतंकित बनाउन खोजेको उल्लेख गरिएको छ । साथै यस्ता गतिविधि बन्द नगरिए प्रशासन विरुद्ध कडा आन्दोलनको चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ।

त्यस्तै जनकपुर उद्योग वाणिज्य संघले समेत साहको रिहाईको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।