समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको अधिकांश क्षेत्रमा सडक बत्ती चौबिसै घण्टा बलिरहने गरेका छन् । उपमहानगरका जानकी मन्दिर, रेल्वे स्टेशन, भानुचोक, रामानन्द चोक लगायत दर्जनौं क्षेत्रका पोलमा झुन्ड्याइएका बत्ती दिनरात बलिरहे पनि सरोकारवाला निकायले त्यसको नियन्त्रणमा चासो देखाएका छैनन् । यसले एकातिर विद्युत् चुहावट बढेको छ भने अर्कोतिर उपमहानगरलाई आर्थिक भार थपिएको छ ।  

विद्युत् प्राधिकरण कार्यालय, जनकपुरका उपप्रबन्धक सूर्यनारायण मण्डलले विद्युत् प्रवाह गर्ने प्राधिकरणको जिम्मेवारी भए पनि बल्बको सम्पूर्ण स्वामित्व स्थानीय तहमा हुने हुँदा यस्तो समस्या देखिएको बताए । ‘बिजुलीका पोलमा कसले बल्ब झुन्ड्याएको हो, हामीलाई थाहै हुँदैन, दर्जनौं स्थानमा स्वीच लगाउन भनिए पनि कसैको ध्यान गएको छैन । यसले गर्दा नगरका अधिकांश पोलमा   २४ घण्टै बत्ती बल्ने गरेको छ ।’ उपमहानगरपालिकाले प्राधिकरणसँग समन्वय नगरी पोलपोलमा बल्ब झुन्ड्याए पनि त्यसलाई दिउँसोको समयमा ननिभाउँदा समस्या भएको उनको भनाइ छ । 

चाडपर्व लगायत अन्य समयमा पनि चौबिसै घण्टा सडक बत्ती बल्ने गरेको स्थानीय अमर कर्णले बताए । ‘पोलमा झुन्ड्याइएका बत्ती दिन–रात निरन्तर बलिरहेको हुन्छ । कसैलाई कुनै मतलब हुँदैन,’ उनले भने, ‘हामी गुनासो गर्न फोन गर्छौ, तर हाकिम साबको फोन उठदैन ।’ सरोकारवाला निकायको बेवास्ताका कारण सडक बत्ती २४ घण्टै बल्ने गरेको स्थानीयको भनाइ छ । 

देशैभर विद्युत् चुहावट र चोरी नियन्त्रण अभियानलाई तीव्र बनाएको प्राधिकरणले जनकपुरधाममा भने त्यसको बेवास्ता गरेको देखिन्छ । यसबारे प्राधिकरणको क्षेत्रीय कार्यालय र वितरण केन्द्रलाई थाहा भए पनि मुकदर्शक बनेको स्थानीयको आरोप छ । प्राधिकरणका कर्मचारीले उपमहानगरपालिकाबाट महशुल असुल्ने गरे पनि विद्युत् दुरुपयोगको अनुगमन र नियन्त्रणमा चासो नदेखाएको स्थानीयको भनाइ छ ।

आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा विद्युत् चुहावट ३९ प्रतिशतबाट घटेर ३२ प्रतिशतमा झरे पनि जनकपुर विद्युत् क्षेत्रीय कार्यालयको चुहावट करीब करीब ४० प्रतिशत रहेको तथ्यांकले देखाउँछ । दिनभरि सडक बत्ती बल्नुको कारणबारे सोध्दा वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले नगरपालिकाको क्षेत्राधिकारमा पर्ने बताउँदै पन्छिए । ‘सडक बत्ती व्यवस्थापनको काम नगरपालिकाको हो,’ उनले भने, ‘हाम्रो काम महसुल असुल्ने हो । नगरपालिकाले जति बत्ती बाले पनि हामीले त्यसको महसुल उठाएका छौं ।’ 

क्षेत्रीय कार्यालयले मुज्जफरपुर ढल्केवर प्रसारण लाइनबाट ३३ केभीबाट २०० मेगावाट विद्युत् आयात गर्दै आएको छ, जसमध्ये जनकपुरधाम क्षेत्रमा २० मेगावाट खपत भइरहेको ढल्केवर सब–स्टेशनका प्रमुख रितेश गुप्ताले जानकारी  दिए । अन्य क्षेत्रमा अनावश्यक बत्ती नबाल्न, विद्युतीय उपकरण कम चलाउन प्राधिकरणले आग्रह गर्दै आए पनि जनकपुरमा भने दिनभर बत्ती बलिरहँदा समेत सबै मौन बसेको उनको भनाइ छ ।  

जनकपुरधाम उप–महानगरपालिकाकी उपप्रमुख रिता मिश्रले बल्बसँगै स्वीच लगाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।  नगर क्षेत्रका सडकमा प्रत्येक पोलमा बत्ती निभाउन स्वीच राख्ने प्रक्रिया अघि बढिसकेको छ,’ उनले भनिन्, ‘अबको केही महीनाभित्रै पोलमा बल्ब र स्वीच जडान हुनेछन् ।’

साभार : अभियान दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here