समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । ‘परम्परागत,पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं,असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने मूल नाराका साथ जनकपुरमा दोश्रो पटक खाद्य मेला आयोजना हुन लागेको छ ।

फागुन १० गतेदेखि १२ गतेसम्म तिरहुतिया गाछीमा आयोजना हुने मेलामा विभिन्न समुदायको परम्परागत खानाको प्रर्वद्धन गर्ने उद्देश्य राखिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरद्वारा परम्परागत,स्थानीय,अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रवद्र्धन गर्दै खानेबानीमा सुधार गर्ने उद्देश्यका साथ खाद्य मेलाको आयोजना गर्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले जानकारी दिए ।

विभिन्न समुदायको प्रचलनमा रहेका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्वबारे जनचेतना अभिवृद्धि गर्न मेला आयोजना गर्न लागिएको कार्यालयका प्रमुख खनालले बताए ।

मेलामा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी,बिभिन्न जातजातीसँग सम्बन्धित होटेलहरु,खाद्य व्यवसायीहरु,खाद्य उद्यमका लागि मेशिनरी उपकरण तथा प्रशोधनमा प्रयोग हुने रसायनका सप्लार्यहरु,खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित शैक्षिक संस्थाहरुको ६० वटा स्टलहरु रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरीक्षक प्रविण तिवारीले बताए । मेलामा स्थानीय उत्पादनका साथै पूर्वको इलामको चियादेखि पश्चिम जुम्लाको अर्गा्निक कृषि उत्पादनसम्मलाई स्टलमा सहभागी गराइने उनले जानकारी दिए ।

मेलाबाट अल्प प्रचलनमा रहेका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्वबारेको जनचेतना अभिवृद्धि हुने,खाद्य उद्यमीहरुलाई बजारको सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने,बिभिन्न सरोकारवाला निकायहरु बिचको समन्वय र सहकार्य मार्फत खाद्य स्वच्छता,पोषण सुधार गर्नमा सहयोग मिल्ने अपेक्षा गरिएको खाद्य निरीक्षक तिवारीले बताए ।

२० हजार दर्शक भित्राउने लक्ष्य राखिएको यस मेलामा आफ्नो संस्कृति झल्काउने खानपानसहित मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने बताइएको छ ।

जनकपुरधाम उपमहानगपालिका र उद्योग वाणिज्य संघ, श्रीराम युवा कमिटी र महाबीर युवा कमिटी मेलाको सह आयोजक रहेको छ । क्रियटिभ मिडिया सेन्टर सहयोगीको भूमिकामा रहेको छ । मेलामा नटराज प्रोडक्सनद्धारा सांस्कृतिक प्रस्तुतिको कार्यक्रमसमेत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here