समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । सार्वजनिक सम्पत्तिको संरक्षणको ठाउँमा धनुषा जिल्लामा जनप्रतिनिधिले नै सार्वजनिक जग्गामाथि कब्जा गरेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो दादागिरी देखाउँदै गुठी संस्थानबाट विना कुनै अनुमति लिइ आफ्नो वडा कार्यालय बनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं ६ मा गुठीको जग्गामा कुनै अनुमति लिई आफ्नो कार्यालय बनाएपछि उपमहानगरपालिकाको चौतर्फी आलोचना हुन थालेको छ।

एकातर्फ भू–माफियाहरुले यहाँ रहेको विभिन्न मठ–मन्दिर तथा पोखरी लगायत सार्वजनिक जग्गामा अतिक्रमण गरेको छ भने अर्को तर्फ अतिक्रमणमा परेको जग्गालाई छोडाउनुको साटो स्थानीय सरकारले आफै सार्वजनिक जग्गामाथि कब्जा गरेर बसेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गुठी संस्थानको अधिनमा रहेको चरण पादुका सरको डिलमा उपमहानगरपालिका र वडाध्यक्षकै निर्देशनमा जग्गा अतिक्रमण गरी वडा कार्यालयको भवन निर्माण गरेका छ। वडा कार्यालयको निर्माणको लागि जग्गाका आवश्यकता रहे पनि नियम कानूनलाई धज्जी उडाउँदै उपमहानगरपालिकाले आफ्नो वडा कार्यालय बनाएको छ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नं ६ मा गुठीको जग्गामा कुनै प्रकारको कार्यालय स्थापना भएको जानकारी नभएको जनाएको छ। 

यता जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले वडा कार्यालयको भवन निर्माणको लागि गुठी संस्थानसँग अनुमति नलिएको प्रतिक्रिया दिइन्। उनले चारैतर्फ भूमाफियाहरुले जग्गा कब्जा गरे पनि कसैले कारबाही नगरेको र उपमाहानगरपालिकाले समाजकै हित र सरकारको भाडा बचाउनलाई गुठीको जमिनमा उपमहानगरपालिकाले घर बनाँउदा आलोचना गर्नु व्यर्थ रहेको बताइन्। 

त्यस्तै, वडा नम्बर ६ का वडा अध्यक्ष जगरनाथ साहले गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका प्रमुखसँग पटकपटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएपछि विना कुनै अनुमति वडा कार्यालयको भवन निर्माण गरेको प्रतिक्रिया दिए।

उनले भने, ‘यो भवन निर्माण कानून विपरीत हो तर यहाँका गुठीका हाकिमसँग सम्पर्क नभएकोले विना कुनै अनुमति निर्माण गरिएको छ।’ 

उनका अनुसार भवन निर्माण गर्नको लागि नगरपालिकामा पत्राचार गरेर मात्र भवन निर्माण गरेका हुन्।  

वडा कार्यालयको भवन गुठीको करिब ६ धुर जग्गामा झण्डै १८ लाखको लागतमा निर्माण गरिएको  हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here