समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत माघ २ गतेदेखि शुरु हुन लागेको छोरी शिक्षा विमा शिविर सप्ताहमा सहयोग गर्नको लागि सरोकारबालाहरुले प्रतिबद्धता जनाएका छन् ।

जिल्ला समन्वय समिति धनुषाको समन्वयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारबालाहरुले सप्ताहव्यापी शिविरमा सहयोग गर्ने बताएका छन् । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको सभापतित्वमा भएको कार्यक्रममा महिलाअधिकारकर्मी उर्मिला यादवले शिविरमा स्वयम्सेवकको रुपमा महिला अधिकारकर्मी खटिने प्रतिबद्धता जनाए ।

उर्मिलासँगै सुधा कर्णले पनि वडास्तरमै शिविर संचालन गर्नुपर्ने सुझाव दिदै यो अभियानमा स्वयमसेवकको रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अप्रवासी नेपालहरुको संस्थाकी धनुषा अध्यक्ष कौशल्या सिंहले पनि शुरु हुन लागेको साताव्यापी शिविरको प्रशंसा गर्दै सहयोग गर्ने बताए ।

कार्यक्रममा सहभागी पालिका प्रमुखहरुले पनि शिविरलाई प्रभावकारी तरिकाले संचालन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवले छोरी शिक्षा विमा शिविर प्रभावकारी रुपले संचालन गर्ने बताए ।

सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले छोरी सुरक्षाको लागि प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको बताए ।

२०७५ साल माघ १ गतेदेखि जन्मेको बालिकाहरुको विमा गर्ने कार्यमा सहयोगको लागि उहाँले धनुषासहित प्रदेशका पालिका प्रमुखहरुलाई आग्रह गरे ।

प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बेटी पढाउ, बेटी बचाउ अभियानको उद्येश्य र छोरी विमा कार्यक्रमबारे प्रकाश पारे ।

प्रदेश सांसद चमेली दास, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकर सुवेदी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, बेटी पढाउ, बेटी बचाउ अभियानकी संयोजक प्रियंका यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिविर संचालन गर्नको लागि पालिका प्रमुखहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पचास हजारको चेक बुझाएका थिए । यसअघि सप्तरी र सिरहा जिल्लामा छोरी शिक्षा विमा शिविर सप्ताह संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पुस २० गते वीरगंज र २१ गते बारामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here