समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गुठी संस्थान जनकपुरको नयाँ हाकिम आएसंगै गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा तोड्ने अभियानमा लागिपरेका छन् ।

गुठी संस्थान जनकपुरका पूर्व निमित्त प्रमुख मनोज शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जालसाजी तथा ठगी अभियोग लागाएपछि निलिम्बित भएका छन् । उनी निलिम्बित परेको करिब एक महिना पछि गुठी संस्थान जनकपुरको प्रमुखमा वैकुण्ठ रेग्मी आएका छन् ।

उनी कार्यालयमा आएसंगै गुठी तथा मठ– मन्दिरको अतिक्रमित जग्गा मुक्त गराउन तर्फ अग्रसर देखिएका छन् । जनकपुरधाम वडा नम्बर १२ स्थित हनुमाननगरमा रहेको हनुमान मन्दिरको अधिनमा रहेको जग्गामा अधिकांश स्थानीयवासीले जग्गा अतिक्रमित गरी सैयो घर टहरा निर्माण गरी वर्षौ देखि बसोबास गर्दै आएका छन् । सो हनुमान मन्दिरको अधिनमा रहेका जग्गा पूर्णरुपेण अतिक्रमण हुन थालेपछि मन्दिरका पुजारी किशोरी शरणले गुठी संस्थान जनकपुरमा निवेदन दिदैँ घर टहरा तोडी धार्मिक जग्गा अतिक्रमण मुक्त गरिदिन भनेपछि गुठी संस्थान जनकपुरले एक्सन लिएको हो ।

१५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा डोला लिएर हनुमाननगरमा श्रद्धालु भक्तजनहरु एक रात विश्राम गर्ने गर्दछन् । सो जग्गा नै अतिक्रमण हुन थालेपछि हनुमानका पुजारी सहित केहि स्थानीयवासीहरुको सहयोगमा ३ वर्ष देखि घर निर्माण गरी बसोबास गर्दै आएकोले तत्काल ८ जनाको घर टहरा तोड्नका लागि निवेदन दिएको थियो ।

सोहि अनुसार शनिबार गुठी संस्थान जनकपुरका प्रमुख रेग्मी, प्रहरी र मन्दिरका पुजारीको सहयोगमा ८ वटा मध्ये करिब ६ वटा घर टहरा तोडिएको छ । दिनेस दास, भिलवा दास, उदय दास, बेचन यादव, विल्टु यादव, राम दयाल दास लगायतका घर टहरा तोडिएका छन् ।

गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठ रेग्मीले हनुमान मन्दिरका पुजारी किशोरी शरणले दिएको निवेदन अनुसार अतिक्रमित जग्गा खाली गराउनका लागि डोजर लगाएर तोडिएको बताए । उनले गुठीका जग्गा अधिकांश रुपमा अतिक्रमण गरी बनाइएका अधिकांश घर टहराहरु छिट्टै नै तोडिने बताए ।

त्यस्तै हनुमान मन्दिरका सहयाक पुजारी प्रवोध दास वैष्णवले धार्मिक जग्गाहरु अतिक्रमण हुन थालेपछि आफुहरुलाई सह्य नभएकाले गुठीमा निवेदन दिई जग्गा मुक्त गराईदिन भनेपछि गुठीले घर टहरा तोडेको बताए । उनले यस कदमलाई स्थानीयवासीले समेत सकारात्मक रुपमा लिएकाले निर्माणधिन घरटहरा हटाइनुपर्ने बताए । उनले लामो समय देखि बसोबास गर्दै आएकाहरुलाई हटाउदाँ समस्या उत्पन्न हुने भएकाले बचेखुचेका जग्गाहरुलाई संरक्षण गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट समेत पारे ।

हनुमान मन्दिरको आग्रहमा गुठी संस्थान जनकपुरले घर टहरा तोडेपछि एक परिवार सडक छेउमा छाप्रोको टहरा निर्माण गरी केहि महिना देखि बस्दै आएका थिए ।

केहि दिन अघि मात्रै क्षय रोग लागेको थाहा पाएपछि ४० वर्षिय भिलवा दास नयाँ पिडा लिएर आफ्नो घर फर्किएको थियो । उनी सहित उनका परिवार दुःखी हुदैँ प्रादेशिक अस्पताल जनकपुरबाट उपचार गराएर घर फर्केका थिए । तर जब घर अगाडी डोजर र प्रहरी सहितको भिड देखेपछि नयाँ निर्माण गरिएको घर तोड्दै अब कहाँ जाने भन्ने प्रश्नको उत्तर खोज्नैमा रनभुल्लमा परे ।

जनकपुरधामको श्याम चोक देखि जनकपुर–जटही सिक्स लेन सडक जोड्नका लागि करिब आधा किलोमिटरसम्म ५२ फिट सडकको सहायक मार्ग निर्माण हुदैँछ । गरिब र दलित रहेका भिलवा दासको करिब १० धुरमा रहेको निजि घर ५२ फिटको सडक निर्माणमा अतिक्रमण परेपछि उनी सुकुम्बासी भएका हुन् । अधिकांश जग्गा सडकमै गएपछि उनको घर सडक विभागले नै तोडि दियो । सो घर तोडेदिएको वापतमा घरबार विहिन भएकाहरुले पिडा बाहेक केहि पनि पाएनन् । पाए त केवल सुकुम्वासी हुनुको पिडा ।

२ गाई सहित भिलवा परालमा कम्बल ओढेर ओडार लागेर सुतिरहे । उनका परिवारले घर खाली गर्दै सामाग्रीहरु घरबाट बाहिर निकाल्दै रुदै थिइन् । उनले आफुहरु अब कहाँ जाने रु भन्दै पटक पटक प्रश्न गर्दै थिइन् । टिभि रोग लागेका भिलवा सडक छेउमै बसेर आफ्नै आखाँले घर तोडेको देखिरहदाँ उनी अक्क न बक्क भए । नयाँ रोगले च्यापेपछि उनी नवनिर्मित घर समेत रहेनन् । अब कहाँ जाने भन्ने प्रश्नले उनलाई सताईरहेको छ ।

1 COMMENT

  1. ए, यो त रोडमा मात्र पर्न गरेको मान्छेहरूको नाम छऩ ।
    तर जो धेरै जमिन मिचेका छन त्यस्लाई किन नहटाएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here