समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । पाँच वर्षमा एकचोटी लाग्ने गढीमाई मेलामा मंगलबारदेखि पशुबली सुरु भएको छ । महागढीमाई नगरपालिका १ स्थित बरियारपुरमा रहेको गढीमाई मन्दिर क्षेत्रको ब्रम्हस्थानमा पञ्चबली दिएसँगै पशुबली औपचारिक रुपमा सुरु भएको हो । तर पशुबलीको फोटो र भिडियो खिच्न सञ्चारकर्मीलाई प्रतिबन्ध लगाइएको छ ।

माथीको आदेश भन्दै गढीमाई मन्दिरको ब्रम्हस्थानमा भएको पञ्चबली र बधशालामा भएको रांगा बलीको फोटो खिच्न पत्रकारलाई अनुमति दिइएको छैन । पत्रकारलाई भित्र छिर्ने अनुमती छैन भन्दै बधशालाको गेटबाटै मेला समिति र सुरक्षाकर्मीले फर्काउँदा सञ्चारकर्मीहरु निराश देखिएका थिए ।

पञ्चबलीको दृश्य खिच्न खोज्ने पत्रकारलाई मेला समितिका पदाधिकारी र सदस्यले दुव्र्यवहार समेत गरेका छन् । बलीको दृश्य खिच्ने पत्रकारलाई लछारपछार र लाठी समेत प्रहार भएको थियो । लाठी प्रहारबाट फोटो पत्रकार निभेष चित्रकारको क्यामराको लेन्समा क्षति पुगेको छ ।

मेला समितिले अनुमति नदिएपछि पत्रकारले पर्खाल बाहिरबाट फोटो र भिडियो खिच्ने प्रयास गर्दा समेत रोक लगाइएको थियो । प्रवेशमा रोक लगाएपछि केही पत्रकारले पर्खालमा रहेको प्वालबाट फोटो र भिडियो खिचेका थिए भने केही फर्किएका थिए ।
मेला समितिले बधशालाको पर्खालमा काडेतार लगाएपछि बलीको दृश्य हेर्न मेलामा आएका भक्तालुले समेत हेर्न पाएनन् ।

अघिल्ला मेलामा पत्रकारलाई पञ्चबली र पशुबलीको दृश्य खिच्न कुनै अवरोध नगरेको मेला समितिले यसपटक बैठक नै बसेर पत्रकारलाई फोटो र भिडियो खिच्न नदिने निर्णय गरेको थियो । तर, मन्दिरलगायत अन्य क्षेत्रमा कुनै रोकतोक नलगाएको मेला समितिले बलीको दृश्य खिच्न भने प्रतिबन्ध लगाएको हो ।

पशुबलीअन्तर्गत पहिलो दिन रांगा र दोस्रो दिनदेखि बोकाको बली दिने गरिन्छ । धार्मिक विधि अनुसार सेतो मुसा, कुखुरा, बोका, सुंगुर र रांगाको पञ्चबली दिएपछि रांगाको बली सुरु भएको थियो ।

मंसिर १ गतेदेखि सुरु भएको एक महिने गढीमाई मेलामा सोमबादेखि दर्शनार्थीको घुइँचो बढेको छ । बलीको समयमा दसौं लाख भक्तालुको भीड् लाग्ने गरेको छ । भीड बढेसँगै मेलाको सुरक्षा व्यवस्थापन कडा पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here