समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपाल–भारतको सीमामा परिचयपत्र लागु गरेर काँडेतार लगाउनुपर्ने चर्चा चलेको समयमा खुल्ला सिमानालाई दुई देशले अवसरको रुपमा प्रयोग गर्न सुझाएका छन् । नेपाल–भारतको खुल्ला सीमा बन्द नै गर्नुपर्छ भन्नेहरुको बहुमत देखिन्छ, भने तराई मधेशमा बसोबास गर्नेहरुले बन्द गर्न नहुने पक्षमा देखिएको छ ।

नेपाल–भारतका सीमा खुल्ला रहेका कारणले दुवै देशमा अपराधको घटना बढेको दावी गर्दै सीमामा काँडेतारसम्म लगाउनु पर्ने भनिरहेको छ भने अर्कोतिर रोजगार, व्यवसायी, बेटीरोटीको सम्बन्धलाई लिएर यसलाई खुल्ला नै राख्नुपर्ने तर्क दिइरहेका छन् ।

नेपाल–भारतको खुल्ला सिमानालाई दुवै देशले चुनौती र अवसरको रुपमा लिएर सही सदुपयोग गर्न सुझाएका छन् । जनकपुरधाममा आयोजित सिमाञ्चल सम्बन्धका स्वरुप र नागरिक दायित्व विषयक अन्तरक्रियामा सिमा सिमाविद्हरुले नेपाल भारतको राजनीतिक र आर्थिक भन्दा पारिवारिक सम्बन्ध मजबुत भएकोले सिमा सिलको परिकल्पना समुन्द्रबाट पानी सुकाउनु सरह रहेको बताए ।

प्रदेश २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनालले कुनै पनि राष्ट्रको राष्ट्रिय अखण्डता, राष्ट्रको हित विपरित नेपालको भुमी प्रयोग हुन नदिने बताए । उनले भारत–नेपालको सम्बन्ध सेतु जस्तै रहेकोले यसलाई चुनौती नभई अवसरको रुपमा प्रयोग गरी सकभर फाईदा लिनुपर्नेमा जोड दिए । उनले भने, ‘हिमाल–समुन्द्र, पशुपतिनाथ–सोमनाथ–मुक्तिनाथ र जनकपुरधाम–आयोध्या जस्तो सम्बन्धलाई अवसरको रुपमा खुल्ला सिमाना हो, त्यसैले यी धार्मिक, पारिवारिक र बेटी रोटीको सम्बन्धलाई कायम राख्न समेत खुल्ला बोर्डर आवश्यक छ ।’

प्रदेश २ का समाजिक बिकास मन्त्री नवल किशोर साहले नेपाल भारतको सम्बन्ध भन्दा पहिले देखि रही आएको राजा जनकको मिथिला राज्य रही आएको बताए । उनले भने, ‘नेपाल र भारतमा भन्दा पहिलेको सम्बन्ध मिथिला हो, जुन आज भारत र नेपालको भुमी छ, के हामी यो ईतिहासलाई मेटाउन सक्छौं, कदापि सक्दैनौं, त्यसैले नेपाल–भारतको अक्षुण सम्बन्धलाई सिमाले रोक्दैन् ।’

योजना आयोगका उपाध्यक्ष प्रा. डा. भोगेन्द्र झाले दिल्ली र काठमाण्डौंको सम्बन्ध राजनीतिक हुन हुने तर हाम्रो सम्बन्ध मानवीय किन नहुने भन्दै प्रश्न गरे । उनले भने, ‘दिल्ली र काठमाण्डौंको राजनीतिक सम्बन्ध हो, भने हाम्रो यहाँको सम्बन्ध मानवीय हो, जुन यहाँको जनताको नैसर्गिक सम्बन्ध पहिले देखि रहदै आएको छ ।’

भारत बिहार युनिभसिटीका प्राध्यापक नवल चौधरीले भारत र पाकिस्तान बन्द बोर्डर भएपनि द्वन्द हुने तर नेपाल र भारत बीच खुल्ला सिमामा समेत शान्ति हुने जस्तो संदेश अरु केही नहुने बताए । उनले भने, ‘बोर्डर सिलको मुद्दा नेपाल भारत जनताको भावना विपरित हुन्छ, किनकी पाकिस्तान र भारतको द्वन्दले आज विश्वको ध्यान केन्द्रित गरेको छ, तर त्यसको विपरित नेपाल र भारतको खुल्ला सिमा विश्वकै एउटा नमुना सिमा हो, जहाँ खुशीमा मिठाई र दुःखमा सहयोग बाँडिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here