समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश २ का एक मन्त्रीले आफैँ सम्मिलित सरकारको विरोध गरेका छन् । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफैँ सम्मिलित सरकार तथा मन्त्रीहरुको खर्रो आलोचनामा उत्रिएका हुन् ।

मन्त्रालयबाट दैनिक भ्रमण भत्ताको नाममा मोटो रकम बुझ्ने सूचीको अग्रपंक्ति मध्येका एक उनले यसअघि पनि पटक–पटक प्रदेश सरकार तथा तिनका मन्त्रीहरुको आलोचना तथा विरोध गर्दै आईरहेका छन् । उनी पछिल्लो समय प्रदेशका मन्त्रीहरुको रबैयाप्रति सामाजिक सञ्जालमा खन्निएका हुन् ।

राज्यमन्त्री मण्डलले प्रदेश नम्बर २ का कतिपय मन्त्री जनताको सेवा भन्दा बढी सुखसयल र मोजमस्तीमा व्यस्त रहेको आरोप लगाएका छन् । मन्त्री पदको दुरुपयोग गर्ने, यस महत्वपूर्ण जिम्मेवारीलाई सुखसयल र मोजमस्तीको रुपमा लिएको आरोप लगाएका हुन् । सरकारका मन्त्रीहरुको ध्यान खाली नयाँ गाडी खरिद र सेवासुविधामै केन्द्रित रहेको आरोप लगाउदैँ उनले आफैँ सम्मिलित सरकारका कतिपय मन्त्रीहरुले गाडीका मोडेल हेर्न ब्रोसर पल्टाउँदै र शोरुम धाउँदै दिन बिताईरहेको कटाक्ष गरेका छन् ।

केही मन्त्री बाहेक प्रदेश सरकार अधिकांश मन्त्री काम भन्दा पनि घुमफिर बढी रमाउने गरेका छन् । उनीहरु कामलाई कम प्राथमिकता दिएको र सेवासुविधा तथा आफु समेत आफ्ना परिवार, आफन्त तथा आसेपासेहरुको सुखसयलमा बढी ध्यान केन्द्रित गरेको जस्तो आभास हुने गरेको छ । अन्य मन्त्रीको सेवासुविधा तथा सुखसयल जिन्दगीलाई विरोध गर्ने मन्त्री मण्डल स्वयंले विभागीय मन्त्रालयबाट दैनिक भ्रमण भत्ताको नाममा मोटो रकम बुझ्ने गरेका छन् । उनले गत आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै दैनिक भ्रमण भत्ताको नाममा मन्त्रालयबाट १ लाख ८२ हजार ७ सय २५ रुपैयाँ बुझेका हुन् । जुन प्रदेश २ सरकारका मन्त्रीहरुले बुझेको दैनिक भ्रमण भत्तामा धेरै भत्ता बुझ्नेहरुको सूचीमा चौथो नम्बरमा पर्छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री समेत रहेका राज्यमन्त्री मण्डलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्,–‘प्रदेश नं. २ सरकारमा ‘काम न काजका दुस्मन अनाजका’ भनाई चरितार्थ हुँदैछ । प्रदेश सरकारका कामकाजमा सिन्कासम्म भाँच्न नसकेका असफल मन्त्रीहरु महँगो गाडी किन्ने अस्वस्थ्य प्रतिस्पर्धामा जुटेका छन् । एक वर्ष अघि मात्र किनेको गाडी पुरानो पनि भएको छैन । गाडीको कन्डिसन पनि बहुतै राम्रो छ । प्रदेश कामकाजको लागि काफी नै छ । बक्यौता रकम तिर्न बाँकी नै छ तर पनि मन्त्री पदको दुरुपयोग गर्ने, यस महत्वपूर्ण जिम्मेवारीलाई सुख सयल र मोज मस्तीको रुपमा लिने कतिपय मन्त्रीहरु गाडीका मोडेल हेर्न ब्रोसर पल्टाउँदै र शोरुम धाउँदै दिन बिताई रहेका छन् । दोस्रो चौमासिक बित्न लाग्दा हालसम्म नयाँ योजना र कार्यक्रम समेत बनाउन नसकेका र गत आ.व.का उपभोक्ताहरुको समस्या समाधान गर्नतिर लाग्नुपर्नेमा प्रदेश र जनताको पैसा फजुल खर्च गर्नतिर राज्यमन्त्रीहरुलाई समेत छलेर भ्रष्ट कर्मचारीहरुको मिलेमतोमा लाग्नु दुखद हो ।’

सरकार सबैको साझा भएकाले बिर्ता नठान्न मन्त्रीहरुको होस खुल्नुपर्ने बताउँदै उनले एकलौटी होइन, सामूहिक निर्णयको आधारमा सरकार सञ्चालन गर्नुपर्ने बताए । निर्णय एउटा काम अर्कै हुँदा प्रदेश सरकार बदनाम हुन थालेको उनको टिप्पणी छ ।
प्रदेश २ सरकार तथा तिनका मन्त्रीहरुले सहिदहरुको नाम बेचेर मात्रै खाने गरेको तथा आन्दोलनको जगमा स्थापना भएको सरकारले सहिद तथा जनताको भावना अनुसार काम गर्न नसकेको, कमिसनमा व्यस्त रहेको टिप्पणी समेत हुन थालेको छ । प्रदेश सरकारका मन्त्रीहरुको यिनै रबैयाका कारण सरकार ढल्न सक्ने पनि बताइएको छ ।

राज्यमन्त्री मण्डलले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश सरकारका मन्त्रीहरुप्रति खन्निएको २ घण्टा नबित्दै मधेश मामिलाका जानकार एकजना पत्रकारले मन्त्री मण्डलको स्टाट्सको स्क्रीनसट सामाजिक सञ्जालमा राख्दै ‘जय मधेश कहेङ्गे, मधेशको लुटेङ्गे’ भन्दै कटाक्ष गरेका छन् । पत्रकार अनुराग अनन्तले फेसबुकमा लेखेका छन्,–‘जय मधेश कहेङ्गे, मधेशको लुटेङ्गे, लेनदेनको स्थान काठमाडौँको होटेल पशुपति भिजन रुम नं. ७०१ ।’

उनले प्रदेश सरकारका मन्त्रीहरु प्रदेशको विकास भन्दा बढी कमिसन उठाउन तथा बाँडफाँडमा व्यस्त रहेको आरोप लगाएका छन् । पत्रकार अनन्त मन्त्री मण्डल सहित प्रदेश सरकारका अन्य मन्त्रीहरुमाथि समेत खन्निएका हुन् । उनले होटेलको नाम तथा रुम नम्बर समेत किटेर प्रदेश सरकारका मन्त्रीहरु काठमाडौँमा गएर कमिसन बाँडफाँड गर्ने गरेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here