समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३ सय ३५ सदस्यीय केन्द्रिय कार्यसमितिको टुङ्गो लगाएको २४ घण्टा नबित्दै असन्तुष्टि देखिएको छ ।

एकता प्रक्रियालाई अन्तिम रुप दिने भन्दै अनेरास्ववियुले शुक्रबार अबेर राती ३ सय ३५ सदस्यीय कार्यसमिति चयन गरेपछि तात्कालिन माओवादी निकट विद्यार्थी संगठनका पदाधिकारीहरुले बनाउँदै असन्तुष्टि जनाएका हुन् । शनिबार असन्तुष्ट पक्षले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर अनेरास्ववियूको एकता अस्वीकार्य हुने बताउँदै ध्यानाकर्षण पत्र बुझाएका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्षत्रय पञ्चा सिंह, दिपक देवकोटा, रविकिरण यादव सहित प्रदेशका संयोजकहरू मदन भट्टराई, सूर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मराज शाहीलगायत पुगेका थिए।

असन्तुष्ट समूहले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य हुने बताएका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि भातृ विद्यार्थी संगठन पनि एक भएका थिए । शुक्रबार पूर्व एमालेको अनेरास्ववियु र पूर्व माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले ३३५ केन्द्रीय सदस्यको टुङ्गो लगाएको थियो । उनीहरूले अन्यायपूर्ण एकता सच्याउन माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ,-‘हाम्रो संगठन अखिल क्रान्तिकारीको तर्फबाट नयाँ केन्द्रिय समितिमा समावेश नाम अन्यायपूर्ण, एकलौटी र चरम गुटीय मानसिकताका आधारमा गरेको हाम्रो ठहर छ ।’

संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here